सामग्री ः पनीर ३ सय ग्राम, प्याज १ सय ग्राम, टमाटर १ सय ग्राम, भेंडेखुर्सानी १ सय ग्राम -भेंडेखुर्सानी नभए हरियो खुर्सानी ५० ग्राम), धनियाँको पात थोरै, टमाटर सस ३० ग्राम, जिरा पाउडर २० ग्राम, रातो खुर्सानीको पाउडर २० ग्राम, बेसार ५ ग्राम, नुन स्वादअनुसार, तेल २ सय मिलिलिटर।
विधि ः पनीरलाई हल्का पखाली एउटै साइजमा काट्ने अनि प्यानमा तेल तताई पनीर फ्राई गर्ने। खैरो भएपछि निकालेर एउटा बाउलमा राख्ने अनि नरम बनाउन पानीमा केही बेर भिजाउने -अन्दाजी २ मिनेट)। भेंडेखुर्सानी, प्याज तथा टमाटरलाई ठूलो साइजमा समान रूपमा काट्ने। अर्को प्यानमा तेल तताएर बेसार हाली कटिङ गरेको भेंडेखुर्सानी वा हरियो खुर्सानी, प्याज र टमाटरलाई हल्का आँचमा फ्राई गर्ने र खुर्सानीको पाउडर, जिराको पाउडर अनि स्वादअनुसार नुन हाल्ने र भिजाएर राखेको फ्राई पनीरका साथ हल्का चलाउने। अन्त्यमा टोमाटो सस हाली एकपल्ट राम्रोसँग चलाई प्लेटमा सर्भ गर्ने। सजावटका लागि माथिबाट धनियाँको पात छर्कने।